आम्दानीको गतिलो स्रोत बन्दै तरकारी खेती ।।

img1

ध्रुवतारा संवादाता, बैशाख ७ दैलेख
दैलेखका ग्रामीण भेगका बासिन्दा तरकारी खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । पहिले घरायसी उपभोगका लागि मात्र परम्परागत तरकारी खेती गर्ने नौमुले गाउँपालिकाका बासिन्दा व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले घर खर्च र बालबालिकाको पढाइ खर्च जुटेको स्थानीयवासीले बताएका छन् । साविकको सल्लेरी गाविस ५ का कर्णबहादुर चन्द व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ । मौसमी तथा बेमौसमी रूपमा उहाँले आलु, बन्दा, टमाटर, करेला, काँक्रा जस्ता तरकारीको खेती गरिरहनु भएको छ । नौमुले बजारमा तरकारीको माग उच्च भएकाले आफूले यो पेशाबाट राम्रो आम्दानी  गरेको चन्दको भनाई छ । पहिले घरमा खानका लागि मात्र तरकारी खेती गरेको र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले बीउबिजन र पोखरीका लागि सहयोग गरेपछि व्यावसायिक रूपमै तरकारी खेती गर्न थालेको उहाँले बताउनु भयो । उक्त कार्यक्रमको सहयोगले तरकारी खेतीमा स्थानीयहरूको आकर्षण बढेको चन्दको भनाइ छ । १० वर्षे द्वन्द्वको चपेटामा परेको नौमुले क्षेत्र दैलेख जिल्लाको दुर्गम क्षेत्रमा पर्दछ । दैलेखका ग्रामीण बस्तीहरूमा नहरकुलो, मुहान संरक्षण, सिँचाइ पाइप, पक्की पर्खाल निर्माण, सिँचाइ पोखरी, स्प्रिङकल व्यवस्थापन, थोपा सिँचाइ, प्लाष्टिक टनेल, अग्निरेखा नियन्त्रण, करेसाबारी व्यवस्थापन, बेमौसमी तरकारीखेती प्रवद्र्धन लगायतका कार्यक्रमहरु सञ्चालित छन् ।