मध्य पहाडीकाे काम धमाधम र विकासको ढोका खुल्दै ।।

img1

ध्रुवतारा संवादाता, वैशाख १० जाजरकाेट
दुई वर्षभित्र बनिसक्नुपर्नेे मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा ट्रयाक बनाउने काम सुरु भएको सात वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।  निर्माण कम्पनी र सडक आयोजनाको उदासिनता र लापरबाहीले निर्माण कार्य अलपत्र परेको हो  । एकै साथ सुरु गरिएका लोकमार्गको रुकुम र दैलेख खण्डको काम भने पूरा भइसकेको छ । 
दैलख र रुकुम जोड्ने मुख्य ढोकाको रुपमा रहेको जाजरकोट खण्ड समयमा नबन्दा  मोटर चढ्ने र समृद्धिको ढोका खुल्ने जाजरकोटका बासिन्दाको सपना अझै अधुरो छ । दुई वर्षमा सडक बनाइसक्ने सम्झौता गरेका निर्माण कम्पनीले लोकमार्ग ट्रयाक नै नखोलेर अलपत्र पारेका छन् ।  
जिल्लाको कुदुबाट दैलेखको सुयाडासम्मको ८२ किलोमिटर सडक अन्तर्गत पर्ने कार्कीगाउँ ४ काँडाको मन्ताभिरको झण्डै ४ सय मिटर कडा चट्टान र त्यस आसपासको ३ सय  मिटर भन्दा बढी सडक निर्माणको काम अलपत्र परेको हो । सडक बनाउने जिम्मा लिएको धनन्जय सिद्धार्थ जेभीले निर्माण कार्य अलपत्र पारेपछि सम्बन्धित निकायले चासो नदिएको स्थानीय बासिन्दा हेमन्त केसीको आरोप छ ।
अरु ठाउँको सडकको ट्रयाक खोली स्तरोन्नती गर्ने काम भइरहेपनि कार्कीगाउँको मन्ताभीर र सडक पुलका ठेकेदार कम्पनीलाई काम सक्न ताकेता गरिरहेको मध्यपहाडी  लोकमार्ग आयोजना कार्यालय दाङका  ईन्जिनियर नारायण प्रसाद निउरेले जानकारी दिनुभयो  । अहिले काम छिटो सम्पन्न गर्नका लागि झण्डै १५० मिटर रक कटिगं भइरहेको उहाँले बताउनुभयो  । अब चाँडै काम सकिने  र आगामी आर्थिक वर्ष भित्र सडकको स्तरोन्नति गर्न पिच कार्यको टेन्डर खुल्ने गरि काम भइरहेको निउरेको भनाई छ ।
फेरा खोलाको सडक पुल  निर्माण सम्पन्न भैसकेको र बाँकी काम  केही दिनमै अन्तिम चरणमा  पुग्ने र पुल हस्तान्तरण गर्ने जनाइएको छ । रुकुमको चौरजहारी नगरपालिका र जारकोटको भेरी नगरपालिकामा जोड्न भेरी नदीमा निर्माणाधिन पुलको काम भैरहेको उहाँले बताउनुभयो । जाजरकोटको पश्चिम छेडागाड नगरपालिकाको प्रमुख वजार थलह खोलामा बन्नुपर्ने पुलको भने अहिलेसम्म टेण्डर नै भएको छैन । यसका लागि आवश्यक तयारी भइरहेको लोकमार्ग सडक समन्वय कार्यालय दाङले जनाएको छ  । पुल नबन्दा जाजरकोटको पश्चिम क्षेत्रका बासिन्दालाई छेडा फेरा हुँदै घुमेर सदरमुकाम आउनु पर्ने वाध्यता रहेको दशेराका हरिबहादुर शाहीले भन्नुभयो  । 
आयोजनाले जाजरकोट खण्डको निर्माणमा ८० करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरी सकेको छ ।  ट्रयाक नै नखुलिसकेको सडक खण्डको यसै आर्थिक वर्षमा स्तरोन्नति गरी कालोपत्रे गर्नको लागि सर्भे डिजाइन समेत गर्ने तयारी गरिरहेको पश्चिम क्षेत्र हेर्ने मध्यपहाडी लोकमार्गको कार्यालय दाङले जनाएको छ ।
जाजरकोटको छेडागाड नगरपालिकाको कार्कीगाउँ झाप्रा सडक खण्डमा कडा चट्टानका कारण झण्डै १५० मिटर सडक ट्रयाक खोल्न सकिएको छैन । काम ढिलो भएपनि सडक बनेपछि विकाससँगै र नागरिकमा चेतनाको लहर छर्ने र आय स्तरमा समेत बढाउने जाजरकोटका नागरिक अगुवा राजेन्द्र विक्रम शाह बताउनुहुन्छ । देशका प्रमुख मध्य पहाडी लोकमार्गमा रहेको योजना गरिएका शहरी क्षेत्रमा रुकुमको चौरजहारी भ्याली पनि प्रमुख भएकोले जाजरकोटको विकास निर्माणदेखि चेतनाको स्तर उकास्न मध्य पहाडि लोकमार्ग साच्चिकै कोशेढुगा सावित हुने उहाँ बताउनुहुन्छ ।
मध्य पहाडी लोकमार्ग सञ्चालन भएमा दैलेखदेखि जाजरकोट आउन जान समेत सहज हुने र सुर्खेत जाजरकोटका लागि वैकल्पिक सडक समेत बन्ने स्थानीयबासिन्दा बताउँछन् । यो लोकमार्ग बनेपछि जाजरकोटका दुई नगरपालिका र एक गाउँपालिका जोड्ने प्रमुख सडक बन्नेछ भने दुईवटा गाउँपालिकाको सहायक सडक बन्ने देखिन्छ  ।
सडक पिच हुने बित्तिकै जाजरकोटका झण्डै ६० हजार बासिन्दाले प्रत्यक्ष रुपमा रोजगारीका अवसर पाउने घरेलु विकास समितिको एक अध्ययनले देखाएको छ । यससडक क्षेत्रमा बसोबास गर्ने युवाहरुलाई होटल व्यवस्थापन, खाजा बनाउने, हेयर कटिङ, बाख्रा पालन, तरकारी खेती सम्बन्धी तालिमको आवश्यकता रहेकाले यस्ता तालिम संचालन गर्न आवश्यक रहेको  जिल्ला  समन्वय समितिमा जानकारी गराएको थियो ।
अहिले मध्य पहाडी लोकमार्ग सडकलाई ध्यान दिँदै जाजरकोटका बिभिन्न ठाउँमा अग्ला अग्ला भूभागमा होटल तथा रेस्टुरेन्ट खोल्ने, विद्यालय स्वास्थ्य संस्था खोल्ने उदेश्यले जग्गा समेत किनबेच भइरहेको छ  ।