परीक्षार्थी धेरै, प्रश्नपत्र कम ।।

ध्रुवतारा संवादाता, साउन २१ दैलेख
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको एस.इ.इ.को ग्रेडबृद्धि परीक्षा अन्तर्गत शनिबार दैलेखमा परीक्षार्थी भन्दा प्रश्न पत्र कम आएको छ । शनिबार गणित विषयको परीक्षा भएकोमा त्रिभुवन माध्यामिक विद्यालय दैलेख बजार केन्द्रमा डेढ सय वढि परिक्षार्थीलाई फोटोकपी गरेर प्रश्नपत्र दिइएको थियो । त्रिभुवन माविका प्रध्यानाध्यापक तथा केन्द्राध्यक्ष निरक तारामीले ९ सय भन्दा बढी परीक्षार्थी रहेको तर साढे ७ सय मात्र प्रश्नपत्र आएपछि फोटो कपी गरी प्रश्नपत्र बाँडिएको बताउनुभयो । यस बारे जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारी सँग वुझ्दा राष्ट्रिय परीक्षा बोर्ड बाटै कम प्रश्न पत्र आएको र त्रिभुवन माविमा फोटो कपी मेसिन भएकोले केन्द्राध्यक्षलाई फोटो कपी गर्न लगाइएको बताए ।
ग्रेडबृद्धि परीक्षा जिल्लाका सदरमुकाममा मात्र सञ्चालन गर्ने प्रचलन अनुसार दैलेखका ४ स्थानमा २ हजार ४ सय २४ जनाले शनिबार गणित विषयको परीक्षा दिएका थिए । दैलेख जिल्लामा ग्रेडबृद्धिको परीक्षा दिने परीक्षार्थी संख्या गणितमा सबै भन्दा धेरै रहेका छन् ।