दैलेख सदरमुकामका घरअगाडीका अस्थाई टहरा हटाउने अभियान शूरु ।।

img1

दैलेख पौष १६ ।
नारायण नगरपालिका दैलेखले  सदरमुकामका घरअगाडीका अस्थायी टहरा हटाउने अभियान सुरु गरेको छ ।   सदरमुकाम दैलेख बजारलाई सुन्दर बनाउने उद्देश्यका साथ नगरपालिकाले सुचना जारी गरेसंगै आजदेखी सदरमुकामका सडक आसपासका पेटी तथा अस्थायी टहराहरु हटाउन शुरु गरेको हो ।
 
सदरमुकाम क्षेत्रमा नगरपालिकाले गएको शुक्रवार घरदैलो गरेर यस्ता टहरा हटाउन अनुरोध गरेको थियो तर स्थानीय व्यापारी तथा घरधनीहरुले अटेरी गरेपछि मेयर, उपमेयर र कर्मचारीहरुको टोलीले आजदेखी यो अभियान संचालन गरेको हो । 
 
सडक अतिक्रमण गरी बनाइएका टहराका कारण बाटो साँघुरो हुँदै गएको, ठूला सवारी नगर क्षेत्रभित्र प्रवेश गर्न समस्या भएको र सदरमुकामको शोभा नै बिग्रिएको भन्दै डोजर लगाएर टहरा भत्काउन थालिएको हो । 
 
टहरामा राखिएका होटल, पसलका कारण नगर क्षेत्रमा फोहोर बढ्दै गएकाले अभियान थालिएको नारायण नगरपालीकाका नगर प्रमुख रत्नबहादुर खडकाले बताउनुभयो । 
 
नगर प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्री मल्ल, वडा नम्बर १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष प्रकाश न्यौपाने र कार्यकारी अधिकृत जगत बस्नेत तथा प्रहरी इन्सपेक्टर एकेन्द्र्र खड्का लगायतको टोली आजदेखी टहरा हटाउने अभियानमा खटिएको कार्यकारी अधिकृत जगत वस्नेतले जानकारी दिनुभयो ।
 
नारायण नगरपालिकाले सडकमा सामाग्री नराख्न, जथाभावी पार्किंग नगर्न र टहरा हटाउन भन्दै यही पुस १५ गतेसम्मको समयसीमा तोकेको थियो । 
 
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बजार व्यवस्थित बनाउन आग्रह गरे पनि त्यसको सुनुवाई नगरेकाले वाध्य भएर नगरपालिकाले हटाउन शुरु गरेको नगर प्रमुख रत्नबहादुर खड्काको भनाई छ  ।