जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा नयाँ सेवा थप ।।

ध्रुबतारा संवाददाता 
दैलेख माघ २३ । 
जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा नयाँ स्वास्थ्य सेवा थप गरिएको छ । १५ शैयाको क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा दर्जनौ नयाँ सुविधाहरु थप गरिएका हुन् । 
 
नयाँ सुविधाहरु थपिएपछि दैलेखमा सेवा नपाएर अन्यत्र जिल्ला जान पर्ने बाध्यमा रहेका दैलेखका बिरामीहरु अबदेखी दैलेखमै स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । 
 
जिल्लामा विभिन्न स्वास्थ्य सेवा लिनका लागि सुर्खेत तथा नेपालगंज जानुपर्ने बाध्यता रहेको थियो । यस अघि नभएका सेवाहरु अहिले जिल्ला अस्पताल दैलेखमा थप गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर शोभित थापाले जानकारी दिनुभयो  ।
 
उहाका अनुसार पुराना र जिर्ण अवस्थामा रहेका भौतिक सामग्रीहरु निमार्ण गरि संचालनमा ल्याइएको छ । दाँतका विरामीहरुले अब जिल्ला स्वास्थ्य कार्यालयबाट नै डेन्टल सेवा पाउने भएका छन् । 
 
आधुनिक खालको डेन्टर सेवा जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक संचालनमा ल्याइएको डा. थापाले बताउनुभयो ।
 
यस्तै जिल्ला स्वास्थ्य कार्यालयमा आधुनिक सिआर एक्सरे सेवा समेत संचालनमा ल्याइएको छ । उक्त एक्सरेबाट एकै पटकमा ५ जना सम्मको एक्सरे गर्न सकिने छ ।
 
२८ दिन मुनीका बालबालिकाहरुका लागि एउटै कोठामा सेवा दिनका लागि व्यवस्थापन गरिएको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा एसएनसियु सेवा, नयाँ एम्बुलेन्स सेवा, नयाँ स्टोर रुम समेत संचालनमा ल्याइएको उहाले जानकारी दिनुभयो । 
 
स्वास्थ्य कार्यालयले संचालनमा ल्याएको अस्पताल फार्मेसिसले विरामीहरुलाई १० प्रतिशत छुटमा २४ सै घण्टा सेवा दिइरहेको थापाले बताउनुभयो  । 
 
फार्मेसिमा अहिले ३ जना कर्मचारी राखिएको छ । अस्पतालमा आउने विरामीहरुका लागि युरोगार्ड सहितको खानेपानी सेवा संचालनमा ल्याइएको छ । 
 
अस्पतालमा मापदण्ड अनुसारमा इमरजेन्सी सेवालाई व्यवस्थापन गरिएको छ । विष सेवन गरि आएको विरामीहरुलाई छुट्टै पोहिजन व्यवस्थापन कोठाको व्यवस्था गरिएको छ । सोडियम र पोटासियम सहितको रगत जाँच मेसिनको व्यवस्थापन गरिएको छ ।
 
जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा जिर्ण अवस्थामा रहेको जेनेरेटरलाई मर्मत गरि संचालनमा ल्याइनुका साथै बालबालिकाहरुका लागि छुट्टै वार्डको व्यवस्थापन गरिएको डा.थापाले जानकारी दिनुभयो । 
टिभीका विरामीहरुका लागि जाँच मेसिन जिन एक्सपर्ट बुधवारबाट मात्रै संचालनमा ल्याइएको उहाको भनाइृ छ  । अस्पतालमा ल्याव र एक्सरे सेवालाई २४ सै घण्टा संचालन गरिएको छ ।
 
यस्तै जिल्ला स्वास्थ्य कार्यालय दैलेख परिषरमा २ सय जना विरामीहरु बस्न मिल्ने गरि हलको व्यवस्थापन गरिएको थापाले जानकारी दिनुभएको छ ।
 
जिल्ला स्वास्थ्य कार्यालयमा डा.शोभित थापा सरुवा भएर आएको एक बर्ष भित्र गरिएका नयाँ कामहरुको बारेमा जानकारी दिन गरिएको पत्रकार घेटघाट कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 
 
अस्तालमा नयाँ सेवा सुविधाहरु थपिए पनि प्रयाप्त मात्रामा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको डा.थापाले बताउनुभयो । 
 
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष बासना थापाले जिल्ला सदरमुकामका रहेका स्वास्थ्य कार्यालयमा नयाँ सेवा तथा सुविधाहरु थप परि नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न लागिएको जानकारी    दिनुभयो । 
 
यस्तै  नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले अस्पतालको विकासका लागि संचारकर्मीहरु सहयोग गर्न पछि नपर्ने बताउनुभयो ।