असी वर्षको उमेरमा नागरिकता ।।

ध्रुबतारा संवाददाता 
दैलेख माघ २३ ।
दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहलतोलीकी ८० वर्षीया बृद्धा धनसरा बिकले आज नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । आवश्यक सबै कागज प्रमाण पु¥याई आउनुभएकोले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले उहाँलाई नेपाली नागरिकता प्रदान गर्नुभएको हो । 
दुई छोरा मध्ये मजदूरी गर्दै भारतको सिमलामा बस्तै आएका कान्छो छोराको साथमा हुनुभएकोले यो उमेरसम्म उहाँले नेपाली नागरिकता पाउनुभएको थिएन । मेहलतोलीमै बस्तै आएका जेठो छोरासंगै बस्ने गरी आएको मौकामा यो बेला नेपाली नागरिकता बनाउन आएको धनसराले सुनाउनुभयो । 
भारत प्रवासमा रहनुभएको बेला आवश्यक नठाने पनि अव नेपालमै बस्ने गरी आएपछि जरुरी परेकोले नेपाली नागरिकता लिन आएको आफूले बुझेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनुभयो ।