आज सातौँ विश्व रेडियो दिवस, बिभीन्न कार्यक्रम गरी मनाईदै ।।

img1

दैलेख फागुन १ ।
आज सातौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘रेडियो र खेलकुद’भन्ने नाराका साथ यसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो ।
 
दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले रुपन्देहीको बुटवलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । 
 
कार्यक्रमको दिउँसो एक बजे उद्घाटन गरिने अकोराबका महा सचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो । 
 
रेडियोको महत्व र योगदान, चुनौतिहरुको समीक्षा गर्ने दिनको रुपमा हेरिएको विश्व रेडियो दिवसको  अवसरमा अकोराबका प्रदेश कमिटी तथा सामुदायिक रेडियोहरुको आयोजनामा आज देशभर विविध कार्यक्रमको आयोजना गरिएको छ । 
 
आजभन्दा ७२ वर्षअघि संयुक्त राष्ट्रसङ्घीय रेडियो स्थापना भएको दिनको सम्झनामा सन् २०१२ बाट संयुक्त राष्ट्र संघको आह्वानमा फ्रेब्रुवरी १३ तारिखमा विश्व रेडियो दिवस मनाउन थालिएको हो ।
 
नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको सङ्ख्या ८ सय ३१ पुगेको छ भने नियमित प्रसारण गर्न थालेका रेडियोको सङ्ख्या ६ सय ५० छ ।
 
नेपालमा सञ्चालनमा रहेका सामुदायिक रेडियोको सख्या ३ सय १५ नाघि सकेको अकोराबका महासचिव देवकोटाले जानकारी दिनुभयो । 
 
देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोले ७० भन्दा धेरै भाषामा कार्यक्रम र समाचार प्रसारण गरिरहेका छन् । 
 
नेपालका सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक संघले सन् २०१२ देखि नै विविध कार्यक्रमको आयोजना गरी विश्व रेडियो दिवश मनाउँदै आएको छ । 
 
आम सञ्चारका माध्यमहरुमा रेडियो सबैभन्दा धेरै नागरिकको पहुँचमा पुगेको माध्यमहो । नेपालमा सरकारी स्वामित्वबाट नागरिकको हातमा एफएम रेडियो प्रसारण थालनी भएको बीस वर्ष पुगेको छ ।