दैलेखको चाुमुण्डाबिन्द्रासैनी १ तिजडाडामा व्यवहार परिवर्तनका लागी सहभोज कार्यक्रम सम्पन्न ।।

img1

ध्रुबतारा संवाददाता 
फागुन २९ दैलेख ।
 
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले अझैपनि समाजमा विभेदजन्य कार्यहरु भइरहेमा कडा कानूनी कारवाही गरिने चेतावनी दिनुभएको छ ।
 
गत महिना हिमालय आधारभूत विद्याललय तीजडाँडामा दलितले पकाएको नखाने भन्दै गैरदलित बालबालिकाले ताला लगाएको सम्वन्धमा विभेद हटाउन आज चामुण्डाको तीजडाँडास्थित विद्यालय प्रांगणमा आयोजना गरिएको सहभोज कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 
 
थापाले सामाजिक प्रयासमा विभेद घटनाउन सहभोज आयोजना गरिएको बताउदै अझैं पनि विभेद भइरहेमा कडा कानूनी कारवाही गरिने चेतावनी दिनुभयो ।  
 
जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीकुमारी शाहले चामुण्डा भूगोल मिलेको र सभ्य नागरिकहरुको बसोबास भएको ठाउँमा जातीय विभेद, छाउपडीप्रथा लगायतका समस्या हुनु दुखदायी घटना भएको बताउनुभयो ।  
 
कार्यक्रममा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले छाउपडीप्रथा, बालविवाह जस्तै नगर क्षेत्रमा जातीय विभेद समस्या पनि रहेको अवस्थामा यस्ता विकृति रोक्न समुदायको अग्रसरता जरुरी रहेको बताउनुभयो । 
 
यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले बालबालिकालाई विभेद गर्न लगाइएको घटना लज्जास्पद घटना भन्दै अभिभावकलाई समेत सचेतना दिन सहभोजको कार्यक्रम गरिएको प्रष्ट पार्नुभयो ।
 
उहाँले कारवाही गर्ने निकायको उपस्थितिलाई कमजोरी नठान्न विद्यालय प्रशासनलाई सचेत गराउनुभयो ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद अधिकारी, महिला बिकास अधिकृत पवित्रा पुरी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरका उप–प्रमुख तारा कुमारी शाही(खत्री), राजनीतिक दलका प्रतिनिधिहरुको तर्फबाट नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दिपक शाही, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष रंगबहादुर तामाङ, वडा नं. ३ का वडाध्यक्ष निरकबहादुर शाही, इन्सेक जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, विद्यालयका प्रधानाध्यापक पूर्ण कंडेल लगाएतले पनि बोल्नुभएको थियो ।