जातीय विभेद अन्त्य गर्न सामाजिक अन्तरघुलनका कार्यक्रम जरुरी ः देवकोटा ।।

img1

ध्रुवतारा संवादाता, चैत्र २२ दैलेख
दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जातीय विभेद अन्त्य गर्न सामाजिक अन्तरघुलनका कार्यक्रम जरुरी रहेको बताउनुभएको छ । जागरण मिडिया सेण्टर काठमाण्डौंको आयोजनामा दैलेखमा भएको जातीय विभेद समस्या र कानून कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो वताउनु भएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी देवकोटाले समाजमा विद्यमान जातीय विभेद छिटो छरितो अन्त्य गर्न राज्यले कानून ल्याएको बताउदै प्रहरी प्रशासनले कसैको दवावमा कानून कार्यान्वयनमा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्काले रीत पुगी आएका मुद्दा कानूनी प्रक्रियामा गएका जानकारी गराउदै सामाजिक दवावका कारण जाहेरी आउन रोक्ने गरिएको गुनासो गर्नुभयो । नेकपा एमालेका सचिवालय सदस्य सूर्यबहादुर शाहीले विभेद हटाउन गरिएको कार्यक्रममा गैरदलित समुदायको सहभागिता बढाउनुपर्ने बताउनुभयो । उहाँले अधिकारकर्मीहरुले विभेदका घटना उचाल्ने प्रयास गर्नु भन्दा विभेद कम गर्ने सचेतना अभियानमा जोड दिनुुपर्ने सुझाव दिनुभयो । नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्णबहादुर खत्री जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८ आएपछि पहिलेको तुलनामा विभेदका घटनाहरुमा कमी आएता पनि अरु जिल्लाका तुलनामा दलित आन्दोलनका सक्रियताका कारण सबै घटना सार्वजनिक भएका कारण दैलेखमा बढी समस्या देखिएको प्रष्ट पार्नुभयो । नेमकिपाका जिल्ला सचिव लक्ष्मीकुमार बिकले दलितहरु सरकारी विद्यालयमा पढ्ने भएकोले बोर्डिङ्ग स्कूलबाट आएकाहरुसंग प्रतिस्पर्धा गर्न नसकेको समस्या दर्शाउनुभयो । उहाँले शिक्षामा भएको यो विभेद हटाउन सरकारका निकायले प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । राजमोका जिल्ला अध्यक्ष अमर नेपालीले जातीय विभेदका दोषीहरु सबैलाई कारवाही प्रक्रियामा नल्याएका कारण अझैं पनि विभेद हट्न नसकेको बताउनुभयो । त्यसबखत सतप्रतिशत सहकारी संस्थाका सचिव हर्कबहादुर नेपालीले विभेद हटाउन दलित समुदायको आर्थिक जीवनस्तर उठाउने कार्यक्रमको आश्यकता रहेको बताउनुभयो । अधिवक्ता दीर्घराज अधिकारीले जातीय विभेद र महिला हिंसाका मुद्दामा मिलापत्र गर्न राजनीतिक हस्तक्षेप मुक्त बनाइनुपर्ने बताउनुभयो । शिल्पी समाजका संयोजक बखत नेपालीले दाताको सहयोगबाट गरिने अन्तरक्रियाले मात्र विभेद हट्न नसक्ने भएकोले स्वयम्सेवी आन्दोलनको आवश्यकता रहेको बताउनुभयो । एन.एन.डी.एस.डब्लू.ओ.का जिल्ला अध्यक्ष रेशमबहादुर बिकको अधयक्षतामा भएको कार्यक्रममा जागरण मिडिया सेण्टरको मानवअधिकार र आत्मसम्मानका लागि सामूहिक आवाज परियोजनाका कार्यक्रम संयोजक शिवहरी ज्ञवाली र पत्रकार अमर सुनारले जिल्लामा जातीय विभेदको अवस्था र कानून कार्यान्वयनको अवस्था विषयमा सहजीकरण गर्नुभएको थियो ।