दैलेख कारागारमा औषधि अभाव, मनोरञ्जनका सामाग्री र पुस्तक वितरण ।।

img1

ध्रुवतारा संवादाता, वैशाख ७ दैलेख
दैलेख कारागारका कैदी तथा बन्दीहरुले मनोरञ्जनका लागि खेलकूद सामग्री, पुस्तकालयमा ज्ञानवद्र्धक पुस्तक र विरामी पर्दा प्रयाप्त औषधिको अभाव रहेको बताएका छन् । कारागारको अनुगमन गर्न पुगेको टोली सँग कैदी तथा बन्दीहरुले आफ्ना समस्या खुलेरै वताएका थिए । कैदी तथा बन्दीहरुसंगको भेटमा कारागार हाताभित्रै भलिबल खेल्ने ठाउँ बनाइए पनि काँडेतारमा ठोक्किएर २–४ दिनमै बल फुट्ने गरेको बन्दी चौकीदार जीवन शाहीले बताए । सामान्य विरामी पर्दा सिटामोल, व्रोफिन पाइए पनि बन्दीहरु मध्ये केही किड्नी, मुटुरोग लगायतका दीर्घरोगीहरुको उपचारका लागी कारागारबाट पहल हुन नसकेको बन्दी नाइके कालु चन्दले बताए । कारागारभित्र पुस्तकालय राखिए पनि नेपालको संविधान, रामायण, महाभारत लगायतका ज्ञानवद्र्धक पुस्तक धेरै निकायसंग माग गर्दा पनि पाउन नसकिएको बन्दी लाइब्रेयन भक्तबहादुर खड्काले गुनासो गरे । अनुगमन टोलीमा रहेका सीअहेव इन्द्रबहादुर थापाले बन्दीहरुलाई बाहिर लिई उपचार गर्न प्रक्रियागत जटिलताका कारण दीर्गरोगीलाई उपचारको प्रयत्न गर्न नसकिएको बताउनुभयो । महिला बन्दी कक्षमा सुरक्षा प्रवन्ध र सेवा सुविधा बारेमा पनि अनुगमन टोलिले जिज्ञासा राखेको थियो । महिला बन्दी नाइके बिन्दकला शाहीले जिल्ला र उच्च अदालतको फैसलाका बिरुद्ध पुनरावेदन गर्न सर्वोच्च अदालत जाँदा सर्वोच्च अदालतद्धारा निर्णय पक्रियामा ढिलाई हुने गरेको गुनासो सुनाइन् । महिला कैदी तथा बन्दीहरुले आफूहरुको रुची अनुसारका सीप, इलम सिक्न घरेलु उद्यमका तालिमहरु आवश्यक रहेको कैदी महिला पवित्रा परियारले बताइन् । अरु जिल्लाबाट स्थानान्तरण भई आएका कैदीहरुको चापले झण्डै डेढ सय जना बन्दी हुदा अघिल्ला वर्षहरुमा खानेपानीको समस्या भए पनि अहिले त्यो संख्या पनि घटेको र जिल्ला सदरमुकाममा ६ महिना अघि सहारेको खानेपानीको झरे यता खानेपानीको समस्या हटेको बन्दीहरुले बताएका छन् । अनुगमन टोलिमा रहेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय संयोजक भोला महतले कैदी तथा बन्दीहरुले राखेका माग सामान्य किसिमका भएका र ती समस्या समाधान गर्न सरोकारवाला निकायसंग समन्वय गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । दैलेख कारगारमा अहिले ११ जना महिला सहित १ सय १३ जना बन्दी रहेका छन् । जम्मा बन्दी मध्ये मुद्दा फैसला हुन बाँकी रहेका ८ जना थुनुवा पनि छन् भने १ सय ५ जना अदालतको फैसला अनुसार कैद भुक्तान गरिरहेका छन् । मुद्दाका प्रकृतिका हिसावले सबै भन्दा धेरै कर्तव्य ज्यान मुद्दाका ५१ जना, जवरजस्ती करणीका ३१ जना, बहुविवाहका ८, ज्यान मार्ने उद्योगका ४, लागु औषधका ४ जना, मानव बेचबिखनका ३, चोरीका ३, चौपाया मारेका २, माअशब २, चोरी शिकार, ठगी, हातहतियार तथा खरखजना, सवारी ज्यान, आगजनी मुद्दाका १–१ जना कैदी तथा बन्दी छन् ।