नौँ बुँदे घोषणापत्र जारी गर्दै अकोराबको कर्णाली प्रदेशको साधारणसभा सम्पन्न ।।

img1

 
जेष्ठ ५ सुर्खेत ।
 
नौँ बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै सामुदायिक रेडियो प्रसारक संघको कर्णाली प्रदेशको प्रथम साधारणसभा तथा रेडियो सम्मेलन सकिएको छ । 
 
सामुदायिक रेडियो सञ्चालनमा देखिएका चुनौती र समाधानका लागि संघ र प्रदेश सरकारले गर्नुपर्ने प्रयासका बारेमासाधारणसभामा छलफल गरिएको छ । 
 
कार्यक्रममा सहभागीले समाजका विकृति हटाइ सामाजिक न्यायसहितको कर्णाली प्रदेश निर्माणमा रेडियोको भूमिका महत्वपुर्ण हुने बताएका छन् । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुलप्रसाद वास्कोटाले रेडियोहरुको वर्गिकरण गर्नुपर्ने बताउनुभयो । 
 
सामुदायिक रेडियो र व्यावसायीक रेडियोलाई एकै नजरमा हेर्न नमिल्ने भन्दै उहाँले वर्गिकरणको आवश्यकता औँल्याउनुभयो । 
 
मन्त्री वास्कोटाले केही सञ्चार माध्यमले गलत सूचना प्रवाह गर्दै नेताको चरित्र हत्या गर्ने, जीउँदै मानिसलाई मृतक भनि समाचार लेख्ने गरेका भन्दै त्यसप्रति सरकार कठोर बन्ने चेतावनी दिनुभयो । 
 
उहाँले प्रेसलाई मर्यादित बन्न आग्रह गर्नुभयो । राज्यमन्त्री बास्कोटाले प्रेसजस्तो शक्तिशाली चिजलाई दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो । 
 
समाजको समग्र विकासका लागि सञ्चारको भुमिका महत्वपुर्ण भएको भन्दै उहाँले प्रेस मर्यादित र पारदर्शी हुनुपर्ने धारणा राख्नुभएको हो । 
Chakra Kc को फोटो।
 
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउने सवालमा सञ्चारमाध्यमले सिपाहीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 
 
उहाँले समाजलाई सभ्य, नैतिकवान र क्षमतावान बनाउन सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 
 
सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले स्थानीय सरकारले सामुदायिक रेडियोहरुसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।