असारे विकासले जिल्ला समृद्ध वन्न नसक्ने : थापा ।।

img1

भिम सिजापति, जेष्ठ १२ दैलेख
नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तह मध्ये कै पुरानो नगरपालिका हो । वि.सं. २०५३ मा स्थापना भएको नारायण नगरपालिका भित्रको मुख्य सडक मर्मतका लागी वर्षेनी करोडौँ रकम खर्च भएको बिल भर्पाइ पेश हुँदै आएको छ । तर सडक स्तरीय भने हुँदैन । “वर्सेनि खर्च हुने लाखौँ रकम अर्थहीन छ,” नारायण नगरपालिका ७ का खेमराज थापाले गुनासो गर्नुभयो । यस्तै जिल्लाकै पुरानो नगरपालिकाको अविगत हेर्दा नयाँ गाउँ तथा नगरपालिकाको अवस्था कस्तो होला भनेर चिन्ता लाग्ने गरेको स्थानीयको भनाई छ ।
नगरपालिका भित्र प्रवेश गर्ने मुख्य द्वार मानिएको भगवती टोलको सडक कालोपत्र गर्ने काम वर्सेनि हुन्छ । प्रत्येक वर्ष सडकमा लाखौँ रकम पनि खर्च गरिन्छ । सडक पक्की भएको केही महिना नबित्दै पुरानै अवस्थामा पुग्छ । एउटै सडकमा वर्सेनि लाखौँ खर्च गर्नु भन्दा दिगोरुपमा सडक सञ्चालनको पहल थाल्नुपर्ने सुझाव बारम्बार नगरपालिकालाई दिँदा पनि सुनुवाइ नभएको स्थानीयवासी प्रेम विसुन्केको भनाई छ ।
नारायण नगरपालिकाका अनुसार गत आवमा भगवती टोल हुँदै लोकतान्त्रिक चोकसम्मका लागि सडकबोर्ड मार्फत रु. २९ लाख ५० हजार रकम खर्च गरिएको थियो । सडक बोर्डकै रु. १५ लाख रकम सडक सुधारका लागि विनियोजन गरिएको थियो । असारमा काम सक्नै पर्छ भन्दै रातारात लालटिन बालेर काम गर्ने गरिन्छ ।
गत आवमा नारायण नगरपालिका भित्रका सडक कालोपत्रका लागि रु. २२ लाख र काडाचौर सडकका लागि रु. ९२ लाख रकम खर्च गरिएको छ । चालू आवमा नारायण नगरपालिकाले नगरपालिका भित्र सडक विस्तारका लागि गणेशचोक देखि काडाचौर सम्म रु. एक करोड ४५ लाख ९५ हजारको टेण्डर गरेर काम सुरु गरेको छ ।
यस्तै, मालपोत कार्यालय देखि भगवती मन्दिर एकान्तकुना सडकका लागि रु. ५६ लाख ६३ हजारको ठेक्का स्वीकृत भएको छ । तीनवटै काम असार सम्म सम्पन्न गरि सक्नु पर्ने भएपनि अहिलेसम्म केहि ठाउँको काम शुरु भएको छैन । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले भने “दुई महिना समय कामका लागि धेरै हो, ठेकेदारले सम्झौता गरिसकेका छन् । अब काम धमाधम हुन्छ ।
दैलेखका स्थानीय वासिन्दा मनोज थापाले भने “दैलेख बजारमा सडक कालोपत्र गरिए पनि गुणस्तर राम्रो छैन,” । रु. एक करोड ४५ लाखको काम रु. ८५ लाखमा सदर भएकाले गुणस्तरीय सडकका लागि स्थानीयवासीले खबरदारी गर्नुपर्नेमा थापाले जोड दिए । थापाले अगाडी भने “गत असारमा गरिएको कालोपत्रे वर्षातको भेल सँगै सकियो अव फेरी गणेशचोक देखी काँडाचौर सम्म कालोपत्रे गर्न लागिएको छ । त्यो पनि वर्षात्को भेल सँगै जानेमा दुई मत नरहेको उनको ठम्याई छ । थापाले असारे विकासले जिल्ला समृद्ध वन्न नसक्ने उनले बताए ।