जिल्ला समन्वय समितिमा दैलेखमा विकास निर्माण सम्बन्धीे पाँच दर्जन उजुरी ।।

img1

ध्रुबतारा संवाददाता
२०, जेष्ठ दैलेख ।
जिल्ला समन्वय समिति दैलेखमा विकास निर्माण सम्बन्धी पाँच दर्जन बढी उजुरी परेका छन । समन्वय समितिमा परेको अधिकांश उजुरी विकास निर्माणका कामसँग सम्बन्धित रहेको समन्वय समितिले जनाएको छ । 
 
जिल्ला समन्वय समितिमा स्थानीय तहमा भएका बेथितिका उजुरी पर्न थालेका छन । विकास निर्माणका काममा ढिलासुस्ती, आर्थिक अनियमितता र गुणस्तर नभएको भन्दै उजुरी पर्न थालेको जिल्ला समन्वय समितीले जनाएको छ । 
 
दैलेख जिससमा ४ नगरपालिका र ७ गाउँपालिका गरि ११ वटै स्थानीय तहका उजुरी परेका छन । दिनहुँ स्थानीयवासी विकास निर्माणमा अनियमितता भएको भन्दै उजुरी लिएर आउने गरेका छन ।  जिससका नायब सुब्बा पूर्ण योगीले भन्नुभयो । वैशाखदेखि उजुरी दिनेको संख्या बढ्दै गएको छ । 
 
जिसस समन्वय र अनुगमन गर्ने निकाय मात्र भएकाले आएका उजुरी आवश्यक कार्बाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उहाले बताउनुभयो । उहाका अनुसार अधिकांश उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय सुर्खेतमा पठाउने गरिएको छ । 
 
‘मेरो उजुरीबारे के भयो भनेर स्थानीयले दिनहुँ फोन समेत गर्ने गरेका छन नायब सुब्बा योगीले भन्नुभयो तर अख्तियारले फाच्यौट भएका उजुरीबारे जानकारी आएको छैन । सबैभन्दा बढी उजुरी महाबु गाउँपालिकाको काम कार्बाहीबारे छन । 
 
महाबुका १० ठूला विकास योजनाबारे उजुरी परेको जिससले जनाएको छ । एक करोड रकम विनियोजन गरिएको ताराघाट–खरिगैरा सडकको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले उजुरी दिएका छन । त्यस्तै महाबु गाउँपालिकाको भवन निर्माण र सामान खरिदमा अनियमितता भएको उजुरी परेको छ । स्थानीयका अनुसार विकास योजनामा सिन्डिकेट रहेकाले अनियमितता हुने गरेको हो । 
 
उपभोक्ता समितिमा आफन्त, पार्टीको नजिकका र पहुँचवालालाई राख्ने गरिएको स्थानीय अगुवा झलक भन्डारीले बताउनुभयो ।  विकासका काममा सुरुदेखि नै अनियमितता हँुदै आएको र केही स्थानीय तहले खरिद प्रक्रियामा अनियमितता गर्दै आएको उहाको भनाई छ । अख्तियारले समेत धेरै मुद्दालाई ओझेलमा पारेको महाबु गाउँपालिकाकी स्थानीय मञ्जु पाण्डेले बताउनुभयो । 
 
३१ वर्ष पुरानो सिँचाइ आयोजनाबारे पटक–पटक उजुरी दिए पनि अहिलेसम्म फाच्यौट नभएको उहाको भनाइ छ । उपभोक्ता समितिमा आफू नपरेको झोकमा उजुरी दिएको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले दाबी गर्नुभयो । 
 
उहाले प्रचलित नीति र कानुनमै रहेर कामकाज सञ्चालन गरेको जनाउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय सुर्खेतका उपसचिव जंगबहादर डाँगीले दैलेखमा त्यस्ता धेरै मुद्दा भएको र अनियमितता गरेको पाइएमा जोकोही पनि कारबाहीको दायरमा आउने बताउनुभयो  । त्यसका लागि अख्तियारले स्थलगत अध्ययन थाल्ने डाँगीले जानकारी दिनुभयो ।