आठ वर्ष नपुग्दासम्म बुवाले मेरो मुखै हेर्नु भएन
म मूल नक्षत्र परेका बेला जन्मेछु । त्यसैले म आठ वर्षको नहुञ्जेल पिताले मेरो मुख हेर्न मिलेन । मूल नक्षत्रमा जन्मेका मान्छेका बारेमा एउटा श्लोक छ, जसले भन्छ :
जस्लाई मूलले पिर्छ, त्यस्ले त्यो शिशुको मुख,
आठ वर्ष नहेर्नू र पछि पर्दैन क्यै दुःख ।
मूल एउटा नक्षत्र हो । यस्ता नक्षत्र जम्मा २७ ओटा हुन्छन् । मूल २७ औँ नक्षत्र हो । पात्रो हेर्न जान्ने र ज्योतिष विद्यामा चाख राख्ने सबैले मूल नक्षत्र अलि पिराहा हुन्छ भन्ने मान्यता राख्छन् । कुनै मूलले आमालाई पिर्छ । कुनै मूलले बालाई । कुनैकुनै मूल आफन्त र नातागोतालाई पिर्ने पनि हुन्छ । म जन्मिँदा परेको मूल चाहिँ आफ्नै बाबुलाई पिर्ने खालको परेछ । त्यसो त, कुनैकुनै मूल नक्षत्रको फल राम्रो पनि हुन्छ । तर यस्तो अपवाद मात्रै हुने भएकाले मूल भन्नासाथ मान्छेले पिराहा नक्षत्र नै बुझ्दछन् ।
म जन्मेको १९८९ साल श्रावण २८ गते । त्यो शुक्रबारको दिन थियो । अहिले पनि पात्रोमा हेर्दा त्यो दिन मूल नक्षत्र परेको देखिन्छ । मेरो जन्मकालताका ग्रह, दशा र नक्षत्र पत्ता लाउन छापावाल पात्रो पाइँदैनथ्यो । त्यो जमानामा पात्रो छाप्ने चलन नै शुरु भएको थिएन । ज्योतिषीहरुले नेपाली कागजमा लेखेर आफै पात्रो तयार पार्ने जमाना थियो त्यो ।
भोजपुरको भुल्के गाउँमा जन्मेको म । भुल्केमा बल्ल गाडी पुगेका छन् । म जन्मेको गाउँ पहिले ओख्रे गाउँ पञ्चायत थियो । २०४८ सालदेखि ओख्रे गाउँ विकास समिति भयो । अहिले रामप्रसाद राई गाउँपालिकामा पर्छ । काठमाण्डौ, विराटनगर, धरान जस्ता शहरमा बसेर विचार गर्दा त अहिले पनि म जन्मेको ठाउँ विकटै छ । त्यो बेला अति नै विकट थियो । तर हिजोआज सडक कच्ची नै भए पनि गाडी पुग्न थालेछन् ।
राणा शासन अन्त्य हुने बेलासम्म पनि हाम्रो गाउँमा कसैले हातमा बाँध्ने र भित्तामा झुण्डाउने घडी हुन्छन् भनेर कल्पना गरेको थिएन । तर ऊ बेला पनि समय नाप्ने प्रविधि थियो । पाका बुढाहरु जलाहारीमा राखेको पानीबाट तपतप चुहिने पानीका थोपा गन्दै घडी र पला निकाल्थे । म जन्मेको बेला मूल नक्षत्र परेको थियो भन्ने कुरा पनि त्यसैगरी खुट्याइयो रे । जलाहारीमा पानी हालेर घडी पला निकाली हेर्दा मूल नक्षत्र कडा परेको र त्यो मूलले पिताजीलाई पिर्छ भन्ने देखाएछ । त्यसैले मेरो पिताजी मूल नक्षत्र बार्न आठ वर्षसम्म छोराको मुख हेर्नु हुँदैन भन्ने टुङ्गोमा पुग्नु भएछ ।
मेरो पिताजी त्यो भेगभरि नाम चलेको पुराण वाचन गर्ने पण्डित हुनुहुन्थ्यो । पुराण भन्ने कामसँगै जजमानी पनि गर्नुहुन्थ्यो । मूल परेर जन्मेकै कारण म आठ वर्ष नपुग्दासम्म पिताजीले मेरो मुख हेर्नुभएन । छोराको मुखै हेर्न नमिल्ने भएपछि पिताजी घरमा आउने र बस्ने कुरा पनि भएन । पिताजी कान्छी आमासित बस्नुहुन्थ्यो । मेरी आमा र बुबाको बसाइ पनि अलग अलग भयो ।
मैले आठ वर्ष नपुग्दासम्म पिताजीलाई देख्न पाइनँ । देख्नै नपाएको मान्छेलाई चिन्ने कुरो पनि भएन । पितालाई नदेखेको र नचिनेको कारण मेरो बाल्यकालको ठूलो हिस्सा पिताको अभिभावकत्वबिनै बित्यो । आठ वर्ष नपुग्दासम्म म आमाको काखमा हुर्कें । मूल नक्षत्रले मेरो बाल्यकाललाई पिताको छत्रछायाँबाट बञ्चित गर्यो । ज्योतिषमा यति धेरै विश्वास गर्ने जमाना भएकाले ती कुरा सामान्य लाग्थे ।
आठ वर्षसम्म पिताको सामीप्यबाट टाढा भए पनि मलाई उहाँले माया नगरेको भन्ने चाहिँ कहिल्यै पनि लागेन । गाउँका कसैले पनि बुवाको कुरा गरेर मलाई जिस्क्याउने, खिज्याउने र हेलाँ होचो गरेको सम्झिन्नँ । अहिले मलाई लाग्छ, त्यो बेला हाम्रो गाउँमा मात्र होइन, नेपालका सबै गाउँघरतिर चलनै त्यस्तै थियो ।
मेरा पिताजीका दुई घर थिए । एउटा घर भुल्केमा थियो, जहाँ म जन्मेँ । अर्को घर खकौलामा थियो, जहाँ कान्छी आमाबाट मेरा दाइ, भाइ र बहिनीको जन्म भयो । म आमासित भुल्केमा हुर्कें, बढें । भुल्के अलि टार र सम्म परेको ठाउँ हो । भुल्केमा हाम्रो घर र बारी थियो ।
बस्ती बाक्लै थियो, तर जंगल नजिक थिएन । जंगल टाढा भएकाले गाईभैँसी पाल्न दुःख थियो । घाँसदाउरा गर्न पनि टाढा टाढासम्म जानुपर्थ्याे । बुवाका भाइ, अथवा कान्छा काकाको घर र हाम्रो घर नजिकै थियो । त्यसैले मेरो हिमचिम र हुर्काइबढाइ काकाका छोराहरुसित बढी भयो । मेरी आमाको म मात्र छोरो भएँ ।म भन्दा माथि तीन दिदी थिए । तीनै जना दिदी अब यो धरतीमा छैनन् ।
मेरा पिताजीको पालासम्म दुई बिहे आम चलन थियो रे । विक्रम सम्वत् २ हजारताका दुई बिहे गर्नु र दुई परिवार चलाउनु स्वाभाविक मानिन्थ्यो । मेरा दुई आमामध्ये कान्छी आमा खकौलामा बस्नु हुन्थ्यो । खकौला भुल्केबाट पश्चिम उत्तरमा पर्छ । भुल्केभन्दा अलि लेक पर्ने भएकाले अलि जाडो ठाउँ हो त्यो । खकौलामा जमीन प्रशस्तै थियो र जंगल पनि नजिकै थियो ।
उ बेला गाईबस्तु पाल्ने चलन थियो । त्यसैले खकौलामा घाँस दाउरा गर्न सजिलो थियो । पिताजी धेरैजसो खकौलामा बस्नुहुन्थ्यो । तर, पिताजीको धेरै समय जजमानी गर्ने र पुराण भन्ने काममा बित्थ्यो । पुराण भन्न र जजमानी गर्न अन्त गएको समयलाई अलग गर्ने हो भने मेरा पिताको भुल्के बसाइ कहिलेकाहीँ मात्र हुन्थ्यो । खकौला भुल्केबाट टाढा भएकाले हाम्रो आउजाउ पनि बाक्लो भएन ।
खै के भएर हो कुन्नि, कान्छीआमाबाट जन्मेका दाइ र भाइहरुसित पनि मेरो गहिरो दोस्ती भएन । कान्छी आमाबाट जन्मेका नरनाथ दाइसँग भने कसोकसो मज्जैको घनिष्ठता रह्यो । उहाँको निधन भएको पनि अहिले धेरै वर्ष भइसक्यो ।
भुल्के र खकौला आउजाउ गर्न त्यो बेला लगभग पौनेदेखि एक घण्टासम्म लाग्थ्यो । हल्का उकालो चढ्दै म र आमा भुल्केबाट खकौला आउजाउ गथ्र्यौं । त्यहाँ जाँदा पनि मसँग मिल्ने दाइ नरनाथ मात्र थिए ।
शान्ति पूजापछि पितापुत्र मिलन
मेरो बाल्यकालका सात वर्ष आमाको माया र छत्रछायाँमा बिते । आठ वर्षमा लागेपछि घरमा रमाइलो चहलपहल शुरु भयो । त्यो बेलाका धेरै कुरा बिर्से पनि केही कुरा मेरो सम्झनामा अहिले पनि तरोताजा छन् । पिताजीले मेरो मुख हेर्ने साइत जुराउनु भएछ । साइत पारेर घरमा एकदिने पुराण लगाइयो । पुराण पिताजी आफैले वाचन गर्नुभयो । पुराणको साङ्गे र मूल परेको मान्छेको मुख हेर्ने शान्ति पूजा एकसाथ लगाइयो ।
मूल परेका मान्छेको मुख हेर्न लाउने पूजालाई मूलको शान्ति पूजा भन्छन् । मूलको शान्ति गर्दा सबैथोक सयवटा चाहिने रहेछ । सयवटा मूलको पानी, सयवटा वृक्षका फूल, सय रुखका पात र सय रुखका जरा चाहिने । जडिबुटी पनि सय थरी ! अनि एकसय छिद्र भएको तामाको चाल्नो पनि थियो ।
शान्ति पूजा गर्दा सबैथोक सय–सय वटा बनाएर त्यो शान्ति विधि गर्नुपथ्र्यो । त्यसका लागि क–कस्ले कहाँ–कहाँबाट पात, काठ, फूल, पानी जम्मा गरे भन्ने कुरा त सम्झन्नँ, तर सामानको जोगाड झण्डै एक सातादेखि नै भइरहेको थियो । मेरा दिदीहरु उत्साहले सामान जम्मा गरिरहेका थिए ।
साङ्गेका दिन पूजा विधिअनुसार सयवटा कलशमा सय मूलको जल हालियो । सय वटा रुखका फल, पात र जरा कुटेर ती सबै सामान जल कलशमा जम्मा गरियो । त्यो कलशलाई ब्राम्हणले पूजा गरे । अनि पूजा गरेको कलशको पानी बोकेर केही मानिस घरको धुरीमा चढे । उनीहरुले कलशको पानी धुरीमा खन्याए । आकाशमा बादल लागेको थिएन, तर घरको धुरीबाट खन्याएको पानी खरले छाएका छानाबाट वर्षामा पानी परेझैँ बलेसीमा झर्न थाल्यो ।
म पनि घरको पानी झर्ने बलेसीमा पिता र मातासित उभिएको थिएँ । माथिबाट झरेको पानी हाम्रो जीउमा पार्न सय वटा प्वाल भएको तामाको भाँडाबाट जलधारा लगाइएको थियो । बलेसीमा उभिएर बा, आमा र म धुरीबाट बगेको जलधारामा थापिएर नुहायौँ । बाआमासित उभिएर नुहाएको सम्झना मलाई अहिले पनि मिठो लाग्छ । मूल परेको ग्रहबाट पार पाएर मेरा पिताले मलाई सुम्सुम्याउनुभो, मैले आठ वर्षसम्म नदेखेका पितालाई देखेँ, चिनेँ र छोएँ । जलधारामा नुहाएपछि र पूजाका सबै कर्म गरेपछि पिता र पुत्रको मिलन भयो ।
मलाई त्यो शान्ति पूजा रमाइलो लागेको थियो । तर पूजा मेरै कारणले लगाइएको हो र मूलको दोष कटाउन लगाइएको हो भन्ने चाहिँ हेक्का थिएन मलाई । पछि आमाले यसबारे कुराहरु सुनाउनु भएको हो । मैले त्यो बेलाका धेरै कुरा त बिर्सिसकेँ । तर, आँगनमा जग्गे गरेको, वरपर मानिस जम्मा भएको र आफू त्यो दिन बाआमासित उभिएर नुहाएको र रमाएको भने मलाई अहिले पनि झलझली सम्झना आउँछ ।
जग्गेमा कलशहरु राखेको, ब्राह्मण–पुरेतहरुले पाठ गरिरहेको, पूजाआजा र होम गरेका दृश्यहरु मेरो स्मृतिमा आज झण्डै ८० वर्षपछि पनि धमिलो धमिलो चित्र बनेर बसेका छन् । पूजापछि बलेसीबाट झरेका पानीका थोपा सम्झिँदा मलाई अहिले पनि आफू त्यो दिन चोखो भएको जस्तो लाग्छ । मैले पितालाई देखेको र पिताले स्पर्श गरेको त्यो दिन र त्यो क्षण मेरो बालापनको सबैभन्दा सुख, आनन्द र सम्झनामा रहिरहने दिन पनि भयो ।
ब्रतबन्धको बन्धन
मेरो पिताजी हेर्दा हृष्टपुष्ट हुनुहुन्थ्यो । उहाँ न अग्लो देखिनुहुन्थ्यो, न होचो । डम्म परेको जिउडालको हुनुहुन्थ्यो । थोरै मात्र बोल्नुहुन्थ्यो । हाँसो ठट्टा गर्नुहुन्थ्यो होला, तर हामी त केटाकेटी ! केटाकेटीसित हाँसो ठट्टा गर्ने कुरा भएन । गरेको भए पनि हामीले बुझ्ने कुरा भएन । त्यसैले होला, हामी तीनजना दिदी र म पिताजीसँग बिना गल्ती नै डराउँथ्यौँ । झन् मैले त पिताजीलाई आठ वर्षपछि मात्रै देखेको र भेटेकोे ।
पिताको छेउमा जान र सँगै बस्न पनि डर लाग्ने । कुरा गर्दा पनि सधैँ डर लागिरहने । उहाँसँग मनको दूरी घटाउन सधैँ धक लागिरह्यो । पिताजीसित नजिकिन मलाई कहिल्यै सजिलो भएन । उहाँसँग बोल्न त के, देख्दा मात्रै पनि मन डरले ढक्क फुल्थ्यो । बालापनमै मनमा गडेको त्यो धक अथवा डर कहिल्यै सकिएन । २०३० सालमा देहावसान हुँदासम्म पनि म पिताजीसित मन भित्रभित्रै डराउँथे । अहिले त पिताजी बितेको पनि ४६ वर्ष भैसक्यो ।
पिताजीले मुख हेरेको एक वर्षपछि मेरो चुडाकर्म (व्रतबन्ध) भयो । आठ वर्ष पुगेपछि व्रतबन्ध नभए पनि बाहुनका छोराले चोखोनितोमा ध्यान दिनुुपर्ने चलन थियो । त्यो बेला ८ वर्ष नाघेपछि मात्र व्रतबन्ध गर्ने चलन थियो । फेरि, एक्लै व्रतबन्ध गर्ने चलन थिएन । सामूहिक व्रतबन्धको चलन थियो । आठ वर्षमा मूल शान्ति पूजा लगाएकाले त्यही वर्ष मेरो व्रतबन्ध गर्न मिलेनछ । अर्को वर्ष म नौ वर्षको लागेँ । नौ वर्षमा टेकेपछि सामूहिक व्रतबन्धको तयारी हुन थाल्यो । काकाका छोराहरु लक्ष्मीकान्त र लिलाकान्त, कान्छी आमापट्टिबाट जन्मेका दाइ नरनाथ र म गरी हामी चारजना दाजुभाइ भयौँ । छिमेकका मेरा गुरुका छोरा पुण्यप्रसाद भट्टराईसहित अरु दुई जना पनि थपिए । १९९८ साल फागुनमा हामी ७ जनाको सामूहिक व्रतबन्ध भयो । व्रतबन्ध हुँदा म ९ वर्षको थिएँ ।
गणेश भगवानको पूजा गरेर शान्ति जगाएपछि व्रतबन्धको तयारी भयो । मेरो काकाको घर र हामी बसेको घर जोडिएको थियो । त्यही जोडिएको सम्म ठाउँमा मण्डप बनाएर हाम्रो व्रतबन्ध गरिएको थियो ।
व्रतबन्धको महत्व क्षेत्रीलाई भन्दा बाहुनलाई बढी हुन्थ्यो ऊ बेला । मेरो हकमा पनि त्यही कुरा लागू भयो । बाहुनको घर, त्यसमाथि पिताजी पण्डित । जन्मेपछि न्वारान गर्ने, छ महिनाको भएपछि पास्नी गर्ने, लगभग डेढ दुई वर्षको भएपछि छेवर गर्ने चलन त अहिले पनि छँदैछ । त्यो बेला त झन् केटाहरुको छेवर गर्ने र केटीको नाक कान छेड्ने कर्म गर्दा चाड पर्व आएझैँ हुन्थ्यो । छेवर गरेपछि पनि टाउको मुडुलै पारेर कपाल खौरिने चलन थियो ।
तर व्रतबन्ध गरेपछि टाउको पुरै खौरिन मिल्दैनथ्यो । व्रतबन्ध गरेपछि कपाल काट्दा टुप्पी अनिवार्य राख्नु पर्थ्याे । बाहुनको टुप्पीको ठूलो महत्व हुन्थ्यो । बुढापाकाहरु टुप्पीको रौँ र जनैको शिखालाई सबैभन्दा शुद्ध र पवित्र मान्थे । कपालको सबैभन्दा माथि टुप्पी, जनैको सबैभन्दा माथि शिखा ! जनै लाउँदा सकेसम्म शिखा काँधमा राख्नुपर्छ भन्ने मान्यता थियो । बाहुनका छोराका लागि व्रतबन्धको महत्व धेरै छ ।
पहिले बाहुनका घरमा व्रतबन्ध नगरेका केटा र बिहे नभएकी केटीले चुल्हामा जान पाउँदैनथे । जनै लाएका केटा र बिहे भएकी महिलाले व्रतबन्ध नगरेका केटाले पकाएको खाना खाँदैनथे । व्रतबन्ध नगरेका केटाले रुद्री चण्डी पाठ गर्न जाने पनि जजमानी गर्न हुँदैन भन्थे । व्रतबन्ध नगरेको केटाले बाबु आमा मर्दा किरिया कर्म गर्नसम्म त पाउँथे, तर पनि पितृले मुक्ति पाउँदैनन् भन्ने मान्यता थियो । त्यो बेलाको समाजमा व्रतबन्धको ठूलो महत्व हुन्थ्यो ।
व्रतबन्ध गरेको त्यो दिनदेखि हामीले जनै लगाउन, चोखोनितो गर्न र हरेक बिहान नुहाई धुवाई गरि शुद्ध भएर सञ्जे भन्न थाल्यौँ । अब मेरो हरेक बिहानको शुरुवात गायत्री मन्त्रको जपबाट हुन थाल्यो । सञ्जे शब्दको अर्थ के हो, मलाई थाहा थिएन । तर गायत्री मन्त्र जप्ने कामलाई हाम्रा गाउँघरमा सञ्जे भन्ने भन्थे । सञ्जे भन्ने कर्म नुहाई धुवाई चोखो भएर एकाबिहानै सकेसम्म धारापँधेरामै सक्नुपर्थ्याे ।
उमेर सानै भए पनि व्रतबन्ध गरेपछि बाहुनको छोराले कडा अनुशासनमा बस्नुपर्थ्याे । जनै लगाउने, उठ्ने बित्तिकै पँधेरामा गई सधैंँ नुहाएर गायत्री मन्त्र जप गर्नुपर्ने । भित्री वस्त्र सबै खोलेर धोती फेरेर मात्र चुल्होमा जान र खान पाइने । खाना खानुअघि कुल र देउतालाई अप्सानी हालेर भाग छुट्याउनुपर्ने । यतिसम्म कि, कहीँ भोजभतेरमा जाँदा पनि धोती बोकेर जानुपर्ने ।
मैले पनि व्रतबन्ध गरेपछि लँगौटी लाउन थालेको हो । जहाँ गए पनि अब धोती फेरेर मात्रै खानुपर्ने भयो । खानुअघि अप्सानी हाल्नैपर्ने, आचमन गर्नुपर्ने ! कतिसम्म भने भोजमा खाँदाखाँदै बीचमा कोही उठिदियो भने अरुले पनि खाँदा खाँदैको भाग छोडेर भोकै पेट उठ्नु पर्थ्याे ।
– शुक्रबार सार्वजनिक हुँदै गरेको भीमप्रसाद गुरागाईंको संस्मरणात्मक कृति ‘ती दिनहरु’ को अंश
उज्यालो अनलाईन मार्फत साभार ।
आठ वर्ष नपुग्दासम्म बुवाले मेरो मुखै हेर्नु भएन
नेपालमा सामाजिक सञ्जाल कसरी चलिरहेको छ भनेर जान्न पहिला नेपालमा इन्टरनेट प्रयोगकर्ताको पहुँच, सामाजिक सञ्जाल प्रयोगकर्ताको अवस्थाका बारेमा जान्नु
प्रतिकृया दिनुहोस